काठमाडौं । मानवअधिकार तथा शान्ति समाजको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। विभिन्न माग राखी विरोधमा उत्रिएकाहरूमाथि प्रहरीले हस्तक्षेप गरेको हो। सिंहदरबारको दक्षिण गेटमा प्रर्दशन गरिरहेका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण गेटअगाडि विरोध प्रदर्शन गर्ने क्रममा मानवअधिकारवादी कृष्ण पहाडी, रामकृष्ण बराल,उत्तम पुडासैनीसहित १६ जना पक्राउ परेका हुन् । अधिकारकर्मी विकास थापा, सानु लामा, रीता अधिकारी, ईश्वर पुडासैनी, तुलसीराम भण्डारी, नानीकाजी गिरी, मनबहादुर थापा, नरेन्द्रमान श्रेष्ठ, मधु पुडासैनी, कल्याण बुढाथोक, धर्मराज न्यौपाने पनि प्रहरी नियन्त्रणमा छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता कुमोध ढुंगेलका अनुसार निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । अधिकारकर्मीहरूले हातहातमा प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।
प्लेकार्डमा‘शान्ति सम्झौताको मर्मअनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर,संक्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसदमा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाऊलगायतका नारा लेखिएका थिए ।
प्रदर्शनकारीले जनयुद्ध दिवसका नाममा राष्ट्रिय विदा दिने निर्णय गलत भएको बताएका छन् । उनीहरुले कैद सजाय माफी गर्नसक्ने अधिकारको दुरूपयोग बन्द गर्न सरकारसमक्ष आग्रह गरेका छन् ।




















