काठमाडौं । युद्धग्रस्त इजरायलमा रहेका नेपालीहरु लिएर विमान आज राति स्वदेश फर्किने भएको छ ।
बिहीवार परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले विमान आज बिहान साढे तीन बजे इजरायल गइ अपरान्ह अवतरण भएको र अहिले फर्किसकेको बताएकी हुन् ।
विमानमा अहिले २५३ जना रहेको र अन्य फर्किन चाहनेहरु व्यवसायिक उडानमार्फत पनि फर्किन सक्ने बताइन् । उनले छोटो समयमा इजरायलमा रहेका नेपालीहरु फर्काउन सरकार सफल भएको बताइन् । उनले विद्यार्थीको उद्धारका लागि मन्त्रालयबाट भए गरेका कार्यहरु हामीले नियमित रुपमा प्रेस विज्ञप्ती ट्विटर मार्फत जानकारी गराइरहेको पनि बताइन् ।
इजरायलबाट तत्काल शव ल्याउन भने कठिन देखिएको छ । इजरायली सरकारले युद्धको घोषणा गरेको अवस्थामा आक्रमणमा परी निधन भएकाहरूको शव हस्तान्तरणको कानुनी प्रक्रियाका कारण शव ल्याउन ढिलाइ हुने भएको हो ।
हालसम्म शवको परीक्षण हुन नसकेको र हस्तान्तरणसमेत नभएकाले विमानमा शव ल्याउन नसकिएको हो । परराष्ट्र मन्त्रालयले सबै मृतकको शव इजरायली सरकारको संरक्षणमा सुरक्षित रहेको र मृतकहरूको शव यथाशक्य छिटो नेपाल ल्याउने जनाएको छ । इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया समाप्त हुनेबित्तिकै उच्च प्राथमिकताका साथ शव नेपाल ल्याई सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने गरिने छ ।
प्रवक्ता लम्सालले इजरायलमा सम्पर्क बिहीन अवस्थामा रहेका विपिन जोशीको खोजि कार्य भइरहेको बताइन् ।




















