काठमाडौं । इजरायलबाट स्वदेश फर्कने चाहने २५० जना विद्यार्थी आज नेपाल आउँदैछन्। विभिन्न स्थानबाट उद्दार गरी ल्याइएका ती विद्यार्थीहरू अहिले इजरायलको तेल अविवस्थित बेन गुरियन एयरपोर्ट आइपुगेका छन् ।
विमानस्थलमा आवश्यक प्रक्रिया पूरा गरेर केहीबेरमा नेपाल एयरलाइन्सको चार्टर्ड विमानबाट काठमाडौंमा आउनेछन्। प्यालेस्टाइन विद्रोही हमासको आक्रमणमा परी इजरायलमा फसेका नेपालीहरूलाई स्वदेश ल्याउन नेपाल सरकारले आज राति नेपाल एयरलाइन्सको चार्टर्ड विमान त्यहाँ पठाएको छ ।
उद्दारका लागि सोही विमानबाट परराष्ट्रमन्त्री एनपी साउद द्वन्द्वग्रस्त क्षेत्र इजरायल प्रस्थान गरेका छन् ।
विद्यार्थीहरूसँगै एकजना घाइते विद्यार्थी धनबहादुर चौधरी पनि आउँदैछन्। बाँकी दुईजना घाइतेको इजरायलको स्थानीय अस्पतालमा उपचार भइरहेको त्यहाँस्थित राजदूतावासले जनाएको छ।
इजरायलमा रहेका ३ सय ५० जना नेपाली तेल अविवस्थित नेपाली राजदूतावासको सम्पर्कमा आएका छन्। त्यसमध्ये २ सय ८८ जना स्वदेश फर्कन इच्छुक छन् । स्वदेश फर्कन चाहेकामध्ये २५० जना आज आउन लागेका हुन् ।




















