काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कैलाश पर्वत पुगेका छन् । नेपालको चुच्चे नक्सामा समेटिएको भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक हुँदै मोदी भारत–चीन सीमामा रहेको कैलाश पर्वतमा पुगेका हुन् ।
आज बिहान हेलिकोप्टर चढेर कालापानी क्षेत्रमा पुगेका उनी लिपुलेक हुँदै भगवान शिवको घर मानिने कैलाश पर्वत पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
नेपाली भूमी लिपुलेक पुगेका भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका विषयमा नेपाललाई जानकारी दिइएको छैन ।
भारतीय पक्षले नेपाललाई मोदीको भ्रमणबारे जानकारी समेत नगराएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताएकी छिन् ।
हेलिकप्टरबाट मोदी साढे ८ बजे अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङकोङ उत्रिएका थिए ।
मोदीले कैलाश पर्वत र पार्वती कुण्डको दर्शन गरी ध्यान र पूजा गरेका थिए । उनले पार्वती कुण्डमा पूजाका क्रममा डमरु र शंख पनि बजाएका थिए ।
मोदीले भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यु, गब्र्याङ गाउँवासीसँग सामान्य छलफल गर्ने कार्यक्रम छ ।
मोदीले कालापानी क्षेत्रमा तैनाथ भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस फोर्स (आईटीबीपी), सशस्त्र सीमा बल (एसएसबी) र अन्य सुरक्षा निकायका अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रधानमन्त्री मोदीसँग उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी पनि कालापानी क्षेत्रमा छन् ।
उनले पिथौरागढमा ग्रामीण विकास, सडक, बिजुली, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापन जस्ता क्षेत्रसँग सम्बन्धित करिब ४२ सय करोडको विकास परियोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
भारतले नेपालका लिम्पियाधुरा, लिपुलेख र कालापानी क्षेत्रमा अतिक्रमण गरी बाक्लो मात्रामा सैन्य तथा सुरक्षा फौज तैनाथ गरेको छ ।
नेपालको अनुमतिबिनै त्यस क्षेत्रमा भारतले सडक, बंकर, ब्यारेकलगायत सामरिक योजनाअन्तर्गतका पूर्वाधार पनि बनाइरहेको छ । भारतको राजधानी नयाँ दिल्लीबाट तिब्बतको मानसरोवर जाने सबैभन्दा छोटो दूरीको बाटो यही क्षेत्रमा पर्छ ।