काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले एमालेको बिरोध गरेको बताएका छन् ।
नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशनको उदघाटन गर्दै बुधवार उनले यस्तो बताएका हुन् ।
उनले एमालेको बिरोध एमाले अयोग्य, असक्षम र काम गर्न नसकेर नभइ देशलाई विकासको बाटोमा लैजानसक्ने एउटै पार्टी एमाले भएकाले बिरोध गरिएको बताए । उनले एमालेको लोकप्रियताले माओवादी र काँग्रेस आत्तिएको बताए ।
उनले माओवादी र काँग्रेस नसच्चिएसम्म देशमा दुई पार्टीको भविष्य नरहेको बताए ।
अध्यक्ष ओलीले युवाहरुमा देशमा केही हुन्छ भन्ने आशा सकिँदै गएको बताए । उनले २०८४ को निर्वाचनका लागि अहिलेदेखि नै तयारीमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।
पूर्व प्रधानमन्त्री ओलीले देशलाई समृद्ध बनाउनका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेकाले एकल बहुमत ल्याउने गरी तयारी लाग्नु अहिलेदेखि नै आवश्यक रहेको बताए । मधेसमा समेत एकल बहुमतको सरकार बनाउनका लागि आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी ६० सिट जित्नेगरी तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।




















