काठमाडौं । नेकपा माओवादी केन्द्रका उप-महासचिव वर्षमान पुनले इजरायल-प्यालेस्टाइन द्वन्द्वको नाममा विरोधीहरूले मुलुकमा अस्थिरता निम्त्याउने प्रयास गरिरहेको बताएका छन् । पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैठकमा बुधबार पुनले इजरायलमा अलपत्र परेका नेपालीहरूको उद्धार गर्न र मृत्यु भएकाहरूको शव ल्याउन नसकेको आरोप लगाउँदै विरोधीहरूले सरकार ढाल्ने प्रयास गरिरहेको दावी गरेका हुन् ।
तर,सरकारले त्यहाँ फसेकाको उद्धार र मृत्यु भएकाको शव ल्याउन प्रयास गरिरहेको उनको भनाइ छ। सरकारले राम्रो प्रयास गरेर विरोधीहरूको सरकार ढाल्ने प्रयासलाई विफल बनाइदिएको उनको भनाइ छ।
उनले सरकारले इजरायल सरकारसँग समन्वयमा युद्धग्रस्त क्षेत्र गाजामा बंकरभित्र रहेका नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको भन्दै देशमा सरकार भएको अनुभूति दिलाएको जिकिर गरे।
उनले बुधबार मात्र सरकारले इराकसँग समन्वय गरी स्वदेश फर्कन इच्छुक नेपाली लिन चार्टर्ड जहाज पठाउन लागेको बताए।
१० नेपालीको विदेशी भूमिमा हत्या भएको र सयौं नेपाली नागरिक युद्धको संकटमा फसेका बेला सरकारलाई सहयोग गर्नुको साटो मौकाको रुपमा उपयोग गर्न खोज्नु निन्दनीय भएको उनले टिप्पणी गरे।
यस्तै फरक प्रसंगमा पुनले देशका विभिन्न स्थानमा धार्मिक र सामाजिक सदभाव भड्काएर राजनीतिक स्वार्थसिद्ध गर्ने प्रयास भएको बताए। सुनसरीको धरान, सर्लाहीको मलंगवा र बाँकेको नेपालगञ्जमा भएका सामाजिक सदभावविरोधी घटनामा प्रतिगामी र व्यवस्थाविरोधी तत्वको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता रहेको उनको दाबी छ ।




















