काठमाडौं । इजरायल-प्यालेस्टाइन युद्धले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण हाललाई स्थगित भएको छ। महासचिव गुटेरेस असोज २६ गते नेपाल आउने कार्यक्रम तय भएको थियो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले असोज २६ गते आउने भनिएका महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित भएको पुष्टि गरिन्। गुटेरेसको अनुकूलतामा नयाँ मिति तय गरिने उनको भनाइ छ।
द्वन्द्वकालीन मुद्दाको किनारा लगाउन राजनीतिक दलहरूलाई सकस भइरहेका बेला उनी नेपाल आउँदै थिए। प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा काठमाडौं आउन लागेका महासचिव गुटेरेस २९ गते यतैबाट चीन जाने कार्यक्रम तय भएको थियो। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क पुगेका बेला असोज पहिलो साता प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसलाई भेटेर नेपाल भ्रमणको निम्तो दिएका थिए।




















