काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा जोखिममा रहेका नेपालीहरूलाई सुरक्षित स्थानमा राख्नका लागि निरन्तर पहल भइरहेको बताएका छन्।
मंगलबार बिहान सिंहदरबारमा बसेको संसदको अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा इजरायलको पछिल्लो घटनाक्रमका सम्बन्धमा जानकारी गराउँदै मन्त्री साउदले ५५ जना नेपालीलाई सोमबार इजरायल सरकारको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जानकारी दिएका हुन्। मन्त्री साउदले जोखिममा रहेका अन्य विद्यार्थीहरूलाई सुरक्षित स्थानमा राख्नका लागि पहल भइरहेको बताए ।
मन्त्री साउदले इजरायलको दक्षिण क्षेत्रको तुलनात्मकरुपमा जोखिमयुक्त क्षेत्रमा आश्रय लिइ राखेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना गरी ५५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताए ।
उत्तर क्षेत्रमा रहेका फार्म हाउसमा रहेका केही नेपालीहरूलाई पनि सुरक्षित तवरले बंकरमा रहने व्यवस्था मिलाइएको मन्त्री साउदले जानकारी दिए।
उनले नेपाल फर्कन चाहनेलाई नेपाली राजदूतावासबाट विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसन सुरू गरिएको र हालसम्म दुई सय बढीको विवरण प्राप्त भइसकेको जानकारी गराए।
मन्त्री साउदले उद्धार लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाजहरू तयारी अवस्थामा राखिएको बताए।
मन्त्री साउदका अनुसार इजरायलमा रहेका नेपालीहरूको वास्तविक स्थितिको पहिचान गर्न,नेपालीहरूको सुरक्षित तबरले रहने प्रबन्ध गर्न,उद्धार तथा सहयोग गर्नका लागि इजरायल सरकारसँग समन्वय र सहजीकरणको कार्य भइरहेको छ। यी कार्यहरू गर्न नेपाली राजदूतावासलाई समेत सक्रिय रुपमा परिचालन गरिएको मन्त्री साउदको भनाइ छ।
सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरू दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा रहेकामध्ये १० जनाको हमासको आक्रमणमा परी निधन भएको छ। बाँकी २ जना सकुशल र ४ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
इजरायलमा हालसम्म करिब ४ हजार ५०० जना नेपालीहरू केयरगिभरको रुपमा कार्यरत रहेका छन्। उनीहरू कोही पनि हमासको आक्रमणमा नपरेको जानकारी प्राप्त भएको मन्त्री साउदले बताए ।
इजरायलमा अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत गएका थिए । तीमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना,त्रिभुवन विश्ववविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।



















