काठमाडौं । इजरायलमा रहेका सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली दूतावासको टोलीसँग सम्पर्कमा रहेका विद्यार्थीहरूलाई इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार इजरायलको सेनाको सहयोगमा लगभग सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा पुर्याइएको छ । हालसम्म ५० भन्दा बढी विद्यार्थीहरुलाई स्थानान्तरण गरिएको छ ।
मुख्य संकट टरेको दावी गर्दै प्रवक्ता लम्सालले इजरायली सेनाले पनि आफ्नो क्षेत्र नियन्त्रणमा लिइसकेकाले विद्यार्थीहरु र तिनका अभिभावकहरुलाई नआत्तिन आग्रह गरेकी छिन् ।
अब केही दिनमा सरकारले उपयुक्त समयमा र सुरक्षित तरिकाले सबैलाई उद्धार गर्ने बताउँदै उनले उद्धार कार्यका लागि भरपूर प्रयास भइरहेको बताएकी छिन् । दूतावासका कर्मचारीहरु पनि बंकरभित्रै बसेर काम गरिरहेको उनले बताएकी छिन् ।
सरकारले नेपालीहरुको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्नका लागि हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृती पनि दिएको छ ।
स्थानीय बासिन्दा, सेना, कर्मचारी लगायतसँग डिल गर्न सक्ने, त्यहाँको कानुनी प्रक्रिया बुझेको व्यक्ति दूतावासलाई आवश्यक परेकाले सोमबारको मन्त्रिपरिषद बैठकले अंग्रेजी–हिब्रु भाषा जानेको व्यक्तिलाई काममा लगाउन स्वीकृती दिएको हो ।
गत शनिबार प्यालेस्टाइनको चरमपन्थी समूह हमासले इजरायलमा अन्धाधुन्द आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको थियो । एक जना सम्पर्कविहीन छन् भने चार जना घाइते छन् ।
इजरायलको सेनाको सहयोगमा घाइतेहरुको उपचार र सम्पर्कविहीन भएकाको खोजी जारी रहेको बताइएको छ । बंकरभित्र बसेर ज्यान जोगाएका केही नेपालीमध्ये गएराति सुरक्षित स्थानमा सारिएका ३२ जना नेपाली विद्यार्थीहरुको नामावली सार्वजनिक भएको थियो । त्यसपछि पनि त्रिभुवन विश्वविद्यालयका विद्यार्थी टोलीलाई सुरक्षित स्थानमा लैजाँदै गरेको भिडियो प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको छ ।
कृषि विषय अध्ययनसँगै काम पनि गर्नका लागि विश्वविद्यालयहरुसँग सम्झौता गरी विश्वविद्यालयहरुले जिटुजीमार्फत् विद्यार्थीहरुलाई इजरायल पठाउने गरेका छन् । ती विद्यार्थीहरुको विवरण सरकारसँग भए पनि आफ्नै तरिकाले इजरायल गएकाहरुको विवरण भने नभएको बताइएको छ ।
विद्यार्थीहरु बाहेक इजरायलमा कति नेपालीहरु छन् र अहिले उनीहरुको अवस्था कस्तो छ भन्ने यकिन गर्न नसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलमा करिब ४ हजार ५०० नेपालीहरु रहेको अनुमान गरिएको छ ।
इजरायलस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहनेहरुका लागि अनलाइन रजिष्ट्रेसन जारी राखेका छ । उक्त डाटाबेसमा २०० भन्दा बढीले नेपाल फर्किने इच्छा व्यक्त गर्दै नाम दर्ता गराइसकेको बताइएको छ ।
नेपाली विद्यार्थीहरुसँगै नेपाल फर्किन चाहने अन्य नेपालीहरु र दिवंगत विद्यार्थीहरुको शवलाई उडान अनुमति पाउनासाथ नेपाल ल्याइने परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले बताएकी छिन् ।



















