काठमाडौं । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धान्जली अर्पण गरेको छ भने घाइतेहरुको शिघ्र स्वास्थलाभको कामना गरेको छ ।
बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले दिएको जानकारी अनुसरा दिवंगत भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको छ ।
परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरुको शव यथाशिघ्र ल्याउने तयारी भइरहेको र मृतकको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । यो रकम अर्थ मन्त्रालयले गृहसँग समन्वय गरेर उपलब्ध गराउने प्रवक्ता शर्माले बताएकी छिन् ।
इजरायलस्थित नेपाली दूताबासले इजरायल सरकारसँग समन्वय र सहयोगमा वेपत्ता नेपालीको खोजीमा तीव्रता दिने र घाइतेहरुको उपचारका लागि समन्वय गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
दूताबासले स्वदेश फर्किन चाहने नेपालीहरुको विवरण अनलाइनमाध्यमबाट संकलन गरेर परराष्ट्र मन्त्रालयमा पठाउने छ भने फर्किन चाहे नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशिघ्र नेपाल ल्याउने निर्णय वैठकले गरेको सञ्चारमन्त्री शर्माले जानकारी दिएकी छिन् । मंगलबार सार्वजनिक विदा रहेको केही सञ्चारमाध्यमा आएपनि सार्वजनिक विदा दिने निर्णय नभएको प्रवक्ता शर्माले जानकारी दिएकी छिन् ।



















