काठमाडौँ । इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक सम्पन्न भएको छ ।
इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारका लागि सरकारद्वारा गठित समन्वय संयन्त्रको बैठक सोमबार बिहान परराष्ट्र मन्त्रालयमा बसेको थियो ।
आइतबार गठन गरिएको उक्त संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर इजरायलमा रहेका नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण काम गर्ने जिम्मेवारी दिइएको छ । संयन्त्रको वैठकले दुई वुँदे निर्णय गरेको छ । १. यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसंग समन्वय गर्ने । २. इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने ।
शनिवार प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको थियो । नेपाली दूतावासका अनुसार आक्रमणमा परी घाइते भएका छ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपीन जोशी हराइरहेका छन् ।




















