काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरूलाई सहयोग, समन्वय र सहजीकरणका लागि सरकार पूर्ण प्रतिवद्ध रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठमा इजरायलमा रहेका नेपालीहरूको अवस्थाका बारेमा संसदमा जानकारी गराउने क्रममा परराष्ट्रमन्त्री साउदले इजरायलको सुरक्षा वातावरण केही समयसम्म जटिल हुने भन्दै त्यहाँ रहेका नेपालीलाई आवश्यक सहयोग र उद्दार गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन्।
मन्त्री साउदले त्यहाँ रहेका नेपालीको सुरक्षा, उद्दार र सहयोगका लागि इजरायल सरकारसँग आवश्यक समन्वय र सहजीकरणको कार्य भइरहेको जानकारी दिए ।
यस सम्बन्धमा थप जानकारी प्राप्त पछि सोको जानकारी गराइने उनले बताए। नेपाली राजदूतावासका अनुसार इजरायलमा हालसम्म ४ हजार ५ सय नेपाली केयर गिभरको रुपमा कार्यरत छन् । दूतावासका अनुसार २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रममार्फत् गएका थिए ।
नेपाली दूतावासका अनुसार आक्रमणमा परी ३ नेपाली घाइते भएका छन् भने २ जना सकुशल रहेका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाँकी रहेका १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने आशंका गरिएको छ ।
शनिबार बिहान प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजराइलका विभिन्न सहरमा आक्रमण गरिहरका छन् ।




















