काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संघीयता देशको लागि आवश्यक नभएको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । लिङदेनले संघीयतालाई अब घिसारेर लैजान नसकिने भन्दै रक्तपात बिना र दबाब बिना सल्लाह गरेर राजतन्त्र पुनःस्थापना गर्न राजनीतिक दलहरुसँग आग्रह गरे ।
उनले नयाँ सहमति नगरे र दलहरु नसच्चिए अब जनदबाबको आँधीबेहरीको तयारी गर्ने दायित्व राप्रपाको भएको बताए ।
लिङदेनले राजनीतिक दलका नेताहरुलाई देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि सच्चिन चेतावनी दिए । उनले राप्रपा पार्टीले अब देशको नेतृत्व नगरेसम्म देशभित्रै गरिखाने वातावरण सिर्जना नहुने बताए ।
उनले दशैँ तिहार सकिएपछि आन्दोलनको आँधीबेहरी सिर्जना गर्नेगरी अघि बढ्न दलका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
अध्यक्ष लिङदेनले राप्रपा भ्रष्टाचारका बिरुद्ध सडकमा आउने बताए ।




















