काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अति विशिष्ट व्यक्ति (भीभीआईपी) को सुरक्षा व्यवस्था सम्बन्धी कार्यविधि परिमार्जन गर्न लागेको छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार प्रशासनले परिमार्जन गर्न लागेको कार्यविधि पारित गर्न मन्त्रिपरिषद्मा पुगेको छ ।
शुक्रबार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा बोल्दै उनले सो विषयमा जानकारी दिएका हुन् । कार्यविधिमा ‘सवारी’ शब्दलाई ‘भ्रमण’ भन्ने शब्दमा रुपान्तरण गरिएको उनले बताए । उनले अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुको भ्रमण गराउँदा सकेसम्म सडक खालि नगर्ने र कमभन्दा कम आमनागरिकलाई असर पर्नेगरी भ्रमण गर्ने कुरा कार्यविधिमा व्यवस्थापन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बस्नेतले यातायातमा निजी क्षेत्रको मात्रै होडले गर्दा सरकारले सवारीसाधनमा नियन्त्रण गर्नसक्ने अवस्था नरहेको पनि बताए । उनले सार्वजनिक यातायातले रिजर्बमा मानिस बोक्ने परिपाटी बन्द गरी रुटमा सवारीसाधन सञ्चालन गर्नुपर्नेमा जोड दिए ।




















