पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रचण्ड–माधव समूहले एमालेविरुद्ध बनाएको समाजवादी मोर्चाको औचित्य नभएको बताएका छन् ।
गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिन आज पोखरामा आयोजित कार्यक्रममा उपमहासचिव गुरुङले एमालेविरुद्ध बनाइएको कथित समाजवादी मोर्चाको औचित्य नरहेको बताउँदै मिसन ८४ मा लाग्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन् ।
अधिवेशन सम्पन्न भएसँगै अब प्रतिस्पर्धाको प्रक्रिया सकिएको बताउँदै नेता गुरुङले पार्टीमा उन्नतस्तरको एकता शुरु भएको दाबी गरेका छन् ।
नेता गुरुङले चुनावले पार्टी फुट्छ भन्ने एउटा गलत धारणा र मनोनयनले वा सर्वसम्मतिले नेतृत्व निरंकुश हुन्छ भन्ने दुवै सोच गलत भएको बताउँदै एमाले उन्नत लोकतान्त्रिक अभ्यास गर्ने पार्टी भएको बताएका छन् ।
उपमहासचिव गुरुङले केपी शर्मा ओली नेतृत्वमा एमालेले मिसन ८४ अभियान सफल बनाउने बताएका छन् ।
हिजो राति सम्पन्न मतगणना अनुसार एमालेको गण्डकी प्रदेश कमिटीमा गुरुङले समर्थन गरेको नवराज शर्मा नेतृत्वको प्यानल विजयी भएको छ ।