पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशनबाट अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । गए राति सार्वजनिक मत परिणामअनुसार अध्यक्षका अर्का प्रतिस्पर्धी मायानाथ अधिकारीलाई एक सय ६६ मतान्तरले हराउँदै शर्मा विजयी भएका हुन ।
शर्माले पाँच सय ३१ मत ल्याउँदा अधिकारीले तीन सय ६५ प्राप्त गरेका छन् । म्याग्दीका शर्मा यसअघिको प्रदेश कमिटीमा पनि अध्यक्षको भूमिकामा थिए । निवर्तमान अध्यक्ष शर्माको प्यानललाई उपाध्यक्ष विष्णु पौडेल–उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहको साथ थियो भने केन्द्रीय सदस्य अधिकारीको प्यानललाई महासचिव शंकर पोखरेल–स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षधरले साथ दिएका थिए । प्रदेश कमिटीको पदाधिकारीहरूमा शर्मा प्यानलै विजयी भएको छ ।
यस्तै पाँच सय ३४ मतसहित उपाध्यक्षमा मीनप्रसाद गुरुङ विजयी भएका छन् भने उपाध्यक्षका अर्का उम्मेदवार बाबुराम सुनारले तीन सय ७२ मत प्राप्त गरे । सचिवमा धनञ्जय दवाडीले पाँच सय २० ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी रश्मी आचार्यले तीन सय ६७ मत पाएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिएका छन् ।
उपसचिवमा चार सय ९९ मतसहित दामबहादुर विक विजयी हुँदा उनका प्रतिस्पर्धी सन्तोष रावलले तीन सय ९७ मत प्राप्त गरेका छन् । उपसचिव महिलातर्फ पाँच सय ३१ मत ल्याएर मञ्जु गुरुङ विजयी भएकी छिन् भने उनका प्रतिस्पर्धी मीना गुरुङले तीन सय ६५ मत प्राप्त गरेकी छिन् ।
बिहीबार भएको मतदानमा कुल नौ सय सात प्रतिनिधिमध्ये आठ सय ९६ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत थापामगरले जानकारी दिएका छन् । अधिवेशनबाट पाँच पदाधिकारीसहित विभिन्न ‘कलस्टर’बाट एक सय ६५ उम्मेदवार निर्वाचित भएका छन् ।