काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालगन्ज घटनाप्रति चिन्ता व्यक्त गरेका छन् । नेपालगन्जमा साम्प्रदायिकता भड्काउने खालका गतिविधि भएको भन्दै उनले शान्ति सुव्यवस्था कायम गर्न सरकारसँग मागसमेत गरे।
उनले नेपालगन्जमा सद्भाव भड्काउने प्रयास भएको बताए । धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव, सहिष्णुता तथा सहअस्तित्व कायम गरी समाजमा अविलम्ब शान्ति र सुव्यवस्था बहाल गर्न उनले सरकारसँग माग गरे ।
विश्व शान्तिका प्रतीक भगवान गौतम बुद्धको जन्मभूमि तथा शान्तिभूमि नेपालबाट विश्वलाई शान्ति, सहिष्णुता, सद्भाव र सहअस्तित्वको सन्देश प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।
विगत केही समयदेखि देशका विभिन्न भागमा धार्मिक, सामाजिक सद्भाव भड्काउने खालका अवाञ्छित र रहस्यमय गतिविधि भएको भन्दै उनले हामी सबैको मानवतावाद एउटै रहेको बताए ।
उनले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुभाषिक राष्ट्र भएको र आफ्नो धार्मिक तथा सांस्कृतिक आस्था अनुसार धर्म र संस्कृति अनुसरण तथा अभ्यास गर्ने स्वतन्त्रता हरेक नेपाली नागरिकलाई रहेको बताए । यो मौलिक अधिकारलाई नेपालको संविधानले समेत पूर्ण प्रत्याभूति गरेको उनको भनाइ छ।
उनले सद्भाव भड्काउने खालका प्रचार सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न आग्रहसमेत गरेका छन् ।




















