काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार गणतन्त्रका लागि ‘स्लो पोइजन’ भएको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले जनता र संविधान छलेर बनेको यो गठबन्धन संविधान र लोकतन्त्रका लागि विषसहर भएको बताएका हुन् ।
उनले गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जनताको आवाज कुल्चिएको आरोप लगाए । संसद र संसदीय समितिलाई बिजनेसविहीन बनाएको भन्दै संसदलाई प्रयोजनहीन बनाउन सरकार लागिपरेको उनको भनाइ छ ।
संविधानले गर्नु भनेका काम नगर्ने, गर्न नहुने काम खोजी-खोजी गर्ने यो सरकारको विशेषता रहेको ओलीको भनाइ छ ।
प्रचण्ड नेतृत्वको सरकार हिंसाको जयगानमा तल्लीन भएको उनले जिकिर गरे । हिंसा सुरू गरेको दिनमा उत्सव बनाएको भन्दै त्यो आफूलाई स्वीकार नहुने बताए। पीडितलाई रुवाएर प्रचण्ड नेतृत्व सरकारले हिंसा सुरू गरेको दिनमा उत्सव बनाएको आफूहरूलाई सह्य नभएको उनले बताए । उनले आगामी मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय फिर्ता लिनुपर्ने बताए ।
सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवस घोषणा गरेर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोही विषयलाई लिएर ओलीले यो निर्णय फिर्ता लिन माग गरेका हुन् ।




















