पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि भ्रष्टाचारका फाइल खोल्दा सत्तापक्षकै नेताहरु जेल जाने दाबी गरेका छन् ।
एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारलाई जुनसुकै भ्रष्टाचारका फाइल खोल्न चुनौती दिँदै खोलेमा सत्तापक्षकै नेताहरु जेल जाने दाबी गरे ।
सरकार भ्रष्टाचारविरुद्ध अभियानमा रहेको बताए पनि भ्रष्टाचारीकै संरक्षणमा लागेको आरोप लगाएका उनले जनतामा भ्रम सिर्जना गर्ने कोसिस गरेको बताए ।
महासचिव पोखरेलले देशलाई शान्ति प्रक्रियामा ल्याउन, संविधान जारी गर्न र त्यसलाई कार्यान्वयनको लागि एमालेले नेतृत्व गरिरहेको बताए । सिङ्गो नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने कामको अगुवाइ नेकपा एमालेले गरेको उनले दाबी गरे । आज राष्ट्रलाई जोड्ने अभियानमा एमालेले अगुवाइ गरेको उनले स्मरण गराए ।
आज एमाले र एमालेको नेतृत्व माथि चौतर्फी घेराबन्दीको प्रयास भएको उनले बताए । यस्तो बेलामा पनि देशलाई बोक्ने जिम्मेवारी एमालेको काँधमा रहेको पोखरेलले प्रष्ट पारे ।