मकवानपुर । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सञ्चालन गरेको सुशासन अभियानविरुद्ध संगठित शक्ति आक्रामक ढंगले प्रस्तुत भइरहेको आरोप लगाएका छन् ।
सोमबार निकास साप्ताहिकको २० औं वार्षिकोत्सवको उद्घाटन गर्दै हेटौंडामा गृहमन्त्री श्रेष्ठले तस्कर तथा भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्दा त्यसका संरक्षणकर्ताद्वारा सरकारमाथि प्रहार भइरहेको बताएका हुन् ।
सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई जारी राख्ने उनले पटकपटक दोहोर्याए । उनले वर्तमान सरकारको सुशासनको अभियानबाट जनतामा आशा र विश्वास बढिरहेको दाबी गरे ।
‘सरकार विशिष्ट कार्यभारसहित अगाडि बढिरहेको छ । सामाजिक आर्थिक रुपान्तरण, विकास र समृद्धिका कार्यभार हामीले लिएका छौं’, उनले भने । गृहमन्त्री श्रेष्ठले करिब ६ दशक लामो संघर्ष गरेर संविधानसभाबाट जारी भएको संविधानको कार्यान्वयन गर्दै सरकार क्रमशः अगाडि बढ्ने बताए ।