काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले समाजवादी मोर्चालाई अढाई वर्ष एक्लै सरकार चलाउन दिनु पर्ने बताएका छन् ।
आइतबार कांग्रेस रुपान्तरण अभियान बागमती प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनलाई गर्दै महामन्त्री थापाले अहिले नै कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाएर सरकारलाई समर्थन मात्र गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
उनले भनेका छन् ‘गठबन्धनमा नयाँ कल्चरको बारेमा छलफल गरौं । उहाँहरुले मिलेर समाजवादी मोर्चा बनाउनुभएको छ । म के प्रस्ताव गर्न चाहन्छु भने, यो दुई अढाई वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ । प्रचण्डजी र त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने कुरा छ। उहाँहरुको एउटै मोर्चा छ, कांग्रेसको मन्त्रीहरू सबै फिर्ता बोलऔं । दुई अढाई वर्ष उहाँहरूलाई एक्लै चलाउन दिऔं । हामी फ्लोरबाट समर्थन गरौं ।’
महामन्त्री थापाले अढाई वर्ष समाजवादी मोर्चाले नेतृत्व गरेपछि त्यसपछिको दुई वर्ष कांग्रेसले नेतृत्व गर्न पाउनुपर्ने बताएका छन् । कांग्रेस नेतृत्वको सरकार बन्दा समाजवादी मोर्चाले समर्थन मात्र गरेर बस्नुपर्ने पनि बताएका छन् ।
उनले भनेका छन् ‘यो अढाई वर्ष मोर्चालाई चलाउन दिऔं। हामी फ्लोरबाट सहमति जनाउने वा नजनाउने गरौं । त्यसपछिको दुई अढाई वर्ष कांग्रेसले चलाउन पाउनुपर्छ । कांग्रेसले एक्लै चलाउनुपर्छ । त्यो एक्लै हुँदा जस भएपनि अवजस जे भएपनि कांग्रेसले लिनुपर्छ। अनि पो बल्ल हुन्छ ।’
महामन्त्री थापाले संघमा मात्रै नभएर प्रदेशमा पनि गठबन्धनभित्र नयाँ ढंगबाट जानुपर्ने बताएका छन् ।