काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र संघको महासभा र चीन भ्रमण सफल भएको बताएका छन् । आइतबार संयुक्त राष्ट्र संघको महासभा र चीन भ्रमणबारे प्रतिनिधिसभामा जानकारी गराउँदै प्रधानमन्त्री दाहालले राष्ट्रसंघको महासभामा नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्न सफल भएको र चीन भ्रमणले चार बर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थीतिको अन्त्य भएको दावी गरेका छन् ।
चीनमा रहँदा द्विपक्षीय वार्तावाट छिमेकीहरुका संवेदनशील बिषयहरुमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको र राजनीतिक तहमा विश्वासको वातावरण बनेको उनले बताए । उनले पूर्वाधार निर्माण, व्यापार लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा सहयोग र सहकार्यलाई तिव्रता दिने मार्गप्रशस्त भएको समेत जानकारी दिएका छन् ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघमा दीगो बिकासका लक्ष्यहरुको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरुबारे नेपाल लगाएत अति कम विकसित मुलुकहरुका चूनौति र समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने बिषयमा सफलता मिलेको दावी गरेका छन् ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि आसन्न चाडबाड र सर्वसाधारणको हितमा ध्यानमा राखी तत्काल फिर्ता लिन निर्देशन गरेबमोजिम निगमले सो मूल्यवृद्धिको निर्णय फिर्ता लिई पूरानै मूल्य कामय गरेको जानकारी गराएका छन् । उनले स्वचलित मूल्य प्रणाली आयल निगमको एकाधिकार र स्वतन्त्रता नभएको पनि बताएका छन् ।
त्यस्तै उनले सुनको अवैध पैठारी र तस्करी नियन्त्रणका लागि उच्चस्तरीय आयोग गठनका बिषयमा सदनलाई जानकारी गराएका छन् । जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम नै आयोग गठन गर्ने निर्णय भएको उनले जानकारी दिए ।