काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्चअदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यलको संयोजकत्वमा आयोग गठन गरेको हो ।
आयोगको अन्य सदस्यमा अर्थमन्त्रालयका किशोरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।
संयोजक बनाइएका आचार्य उच्च अदालतका पूर्वन्यायाधीश हुन् । उनी मुख्य न्यायाधीशको वरीयतामा रहेर पनि बढुवा नभई अवकाश भएका थिए । उनी सत्तारुढ माओवादी केन्द्रनिकट मानिन्छन् ।
माओवादी नेताहरुकै सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदमा उनको नाम प्रस्तुत गरेका थिए ।
समिति गठन गर्न सरकारले आलटाल गरेपछि एमालेले आजको संसद वैठक अवरुद्ध गर्ने संकेत गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले आज विहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका थिए । ओलीसँगको वार्ता पछि सरकारले समिति गठन थरेको हो ।