काठमाडौं । सरकारले ल्याउन लागेको संघीय निजामति विधेयकमा संशोधनको माग गर्दै स्थानीय तहका कर्मचारी काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारीमा लागेका छन्। संसदमा पेश हुने तयारीमा रहेको संघीय निजामती ऐनप्रति असन्तुष्ट जनाउँदै उनीहरुले काठमाडौंमा भेलाको आयोजना गर्न लागेका हुन्।
जिल्ला-जिल्लामा संघर्ष समिति बनाएर आन्दोलन थालेका उनीहरुले आज दिउँसो १ बजे प्रज्ञा भवनमा स्थानीय तह कर्मचारी केन्द्रीय भेलाको आयोजना गरेको संघर्ष समितिका संयोजक दीपक गौतमले जानकारी दिए।
संघीय निजामती सेवा ऐन संघीयता लागू भएको ६ वर्ष बितिसक्दा पनि आउन सकेको छैन। ऐनको विरोधमा उनीहरुले कार्यालयमा विरोधको ब्यानर र हातमा कालोपट्टी बाँधेर काम गरेका छन्।
उनीहरुले सरकारले आफ्ना मागलाई बेवास्ता गरेमा अझ सशक्त रुपले आन्दोलनका कार्यक्रम अघि बढाइने बताएका छन्। यस अगाडि पनि प्रस्तावित निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई निजामती नभनेको भन्दै निजामती दिवसमा बहिष्कार गरेका थिए। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकालाई ५ भदौमा स्थानीय तहलाई निजामती सेवा दिवस मनाउन पत्राचार गरेको थियो । तर प्रस्तावित ऐनमा निजामती नभनेको भन्दै निजामती सेवा दिवसको दिन कालोपट्टी बाँधेर काम गरेका थिए।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै उनीहरुले निजामती दिवसको उनीहरुले संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्धार स्थानीय तहमा मात्र हुनपर्ने, चक्रीय सरुवा प्रणली हुनपर्ने, निजामती अस्पतालमा उपचार लगायत सेवा सुविधामा सबै कर्मचारीहरूलाई समेटिनु पर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग राखेका छन्।




















