काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश प्रथम अधिवेशनमा सहमतिबाट नेतृत्व चयनका लागि निकै प्रयास भएपनि असफल भएको छ । पाँच जनाले अध्यक्षमा उम्मेदवार दिए पनि अरुले फिर्ता गरेका छन् भने कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलको उम्मेदवारी कायम भएको छ । अब दाहाल र ढुंगेलबीच प्रतिस्पर्धा हुने निश्चित भएकोछ ।
अध्यक्ष पदका लागि दावेदारी प्रस्तुत गर्दै उम्मेदवारी दिएका केशव प्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका छन् ।
यसैगरी उपाध्यक्ष पदमा चार जना र सचिवमा दुई जनाको उम्मेदवारी कायम भएको छ । उपाध्यक्षमा ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथलाबीच तथा सचिवका लागि नवराज सिलवाल र हस्तबहादुर पण्डित प्रतिस्पर्धामा छन् ।
उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिएकाले आज बिहान १० बजेबाट मतदान सुरु गर्ने तयारी रहेको निर्वाचन कमिटिले जनाएको छ । मतदान पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ ।