काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल चीनमा सतही अतिथि सत्कारमा रमाएको टिप्पणी गरेका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेपाल यतिबेला आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा रहेको बेला प्रधानमन्त्री आसेपासेको प्रशंसामा रमाएर बसेको आरोप लगाए ।
उनले भनेका छन्, प्रमको चीन भ्रमण आफैँले अपेक्षा गरेभन्दा राम्रो भएको दाबी गरिए पनि देशको आवश्यकता र सम्भावनाको कसीमा कति परिणाममुखी रह्यो भन्ने कुरा प्रमुख हो, नेपाल यतिबेला आन्तरिक रूपमा तीब्र संरचनात्मक आर्थिक संकट र बाह्य रूपमा इतिहासमै कमजोर अन्तर्राष्ट्रिय हैसियतको अवस्थामा छ। यस्तो वेला दूरदर्शी नेतृत्वले सङ्कटलाई अवसरमा बदल्ने प्रयत्न गर्ने हो, न कि सतही अतिथि सत्कार र आफ्नै आसेपासेहरूको प्रशंसामा रमाएर बस्ने !’
डा. भट्टराईले नेपाल राज्यले इतिहासदेखि नै उत्तर र दक्षिणका दुई ठूला छिमेकीसँग छुट्टाछुट्टै रूपमा आफ्नो राष्ट्रिय हित अनुकुल सम्बन्ध राखेर लाभ लिँदै आइरहेको बताए ।
२१ औँ शताब्दीमा चीन विश्वकै पहिलो अर्थतन्त्र र महाशक्ति बन्ने दिशातिर गइरहेको वेला ऊसँगको निकट सम्बन्ध मार्फत मुख्य रूपमा तीब्र आर्थिक रूपान्तरणको महत्वपूर्ण सम्भावना र अवसरको सदुपयोग गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।




















