काठमाडौं । सर्वोच्च अदालतले पोखराको फेवाताल किनारदेखि ६५ मिटरसम्मका सबै संरचना ६ महिनाभित्र हटाउन आदेश दिएको छ ।
फेवातालको वरिपरि वर्षायामको उच्चतम पानीको बिन्दु किनाराबाट ६५ मिटरसम्मको क्षेत्रमा रहेका घर,भवन,व्यापार व्यवसाय,होटल रेष्टुरा,रिसोर्ट आदि तथा अन्य सबै खाले व्यक्तिगत,सरकारी वा सार्वजनिक भौतिक संरचना ६ महिनाभित्र अनिवार्य रुपमा हटाउन आदेश दिएको हो।
फेवाताल संरक्षित जलाधार घोषणा गरिएको क्षेत्र भएकाले फेवातालको स्रोत मुहानदेखि यसको जलाधार क्षेत्रको संरक्षणको लागि भू-तथा जलाधार क्षेत्र संरक्षण ऐन २०३९ ले तोके बमोजिमको काम गर्न सर्वोच्चले आदेश दिएको हो ।
‘फेवातालको वरिपरि वर्षायामको उच्चतम पानी (हाइ फ्लड) किनाराबाट ६५ मिटरसम्मको क्षेत्रमा रहेका घर,भवन,व्यापार व्यवसाय,होटल रेष्टुरा,रिसोर्ट आदि तथा अन्य सबै खाले व्यक्तिगत,सरकारी वा सार्वजनिक भौतिक संरचना यो आदेश प्राप्त भएको मितिले ६ महिनाभित्र अनिवार्य रुपमा हटाइ खाली गर्ने गराउनु र उक्त ६५ मिटरको मध्यवर्ती क्षेत्रलाई पूर्णरुपले हरियाली क्षेत्र घोषित गरी सोही बमोजिम कायम गर्नु गराउनु,’सर्वोच्चको आदेशमा भनिएको छ ।