काठमाडौं । चीनको हाङजाओमा जारी १९औं एसियाली खेलकुदमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले सानदार सुरुआत गरेको छ। मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित हो । तीन वटा विश्व कीर्तिमान पनि राखेको छ ।
यसअघि चेक गणतन्त्रले टर्कीमाथि २५७ रनको जित हात पारेर रन अन्तरको हिसाबमा सबैभन्दा फराकिलो जितको विश्व कीर्तिमान बनाएको थियो ।
नेपालले पहिलो ब्याटिङ गर्दै ३१५ रनको लक्ष्य दिएकोमा मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो ।
नेपालका लागि करण केसी, अविनाश बोहरा र सन्दीप लामिछानेले २–२ विकेट लिए ।
मंगोलियाका एक ब्याट्सम्यानले मात्रै दोहोरो अंकमा रन जोड्न सके । एसियाडमा समूह बीमा रहेको नेपालले आफ्नो दोस्रो खेलमा आइतबार मालदिभ्ससँग खेल्नेछ ।