काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाही लगायतका मधेस प्रदेशका जिल्लामा भइरहेका साम्प्रदायिक घटनाप्रति सरकार गम्भीर रहेको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा श्रेष्ठले बिभिन्न जिल्लामा भएको साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेको र प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको बताएका छन् ।
बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुकमा त्यसमा आँच पुराउने काम भइरहको भन्दै उनले यस बिषयमा सरकारले आवश्यक निर्णय गर्ने जानकारी दिएका छन् । मन्त्री श्रेष्ठले धार्मिक संगठनको बैठक बोलाइएर संयुक्त वक्तव्य समेत निकालेको भन्दै बैचारिक र राजनीतिक वातावरण बनाएर समस्याका समाधान गर्न पनि सरकार प्रतिवद्धत रहेको बताएका छन् ।
त्यस्तै उनले सुन तस्करी लगाएतका भ्रष्टाचारका प्रकरणमा गहिराईमा पुगेर अनुसन्धान गर्न निर्देशन दिएको भन्दै सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । गृहमन्त्री श्रेष्ठले असम्बन्धीत बिषयमा पनि समितिमा आफुलाई बोलाइएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
त्यसअघि बैठकमा समिति सदस्यहरुले साम्प्रदायिक घटना, शान्ति सुरक्षाका साथै बिभिन्न प्रकरणको अनुसन्धानका बिषयमा सरकारको ध्यनाकर्षण गराएका थिए ।
बैठकमा समिति सदस्य रवि लामिछानले साम्प्रदायिक घटना गराएर शान्ति सुरक्षा खलबलाउने षडयन्त्र भइरहेको बताए । उनले सुन तस्करी प्रकरणमा राज्यको अनुसन्धान अलमलिएको आभाष भएको बताएका थिए ।
त्यस्तै समिति सदस्य रघुजी पन्तले सर्लाहीको मलंगवामा भएको धार्मिक दङ्गा लगातार हुँदा पनि प्रशासनले यसलाई रोक्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै उनले प्रधानमन्त्रीको दवावमा सेनाका सहायक रथी यम बहादुर अधिकारीको पदावधि थप गरिएको भन्दै आपत्ति जनाएका छन् । अधिकारी पूर्वमाओवादी लडाकु हुन ।