काठमाडौं । एक हप्ताका लागि चीन भ्रमण पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीनको राजधानी बेइजिङ जाने भएका छन् । अमेरिका भ्रमण सकेर शनिबार बिहान चीनको हाङ्जाओ पुगेका प्रधानमन्त्री दाहाल आज बेइजिङ जाने भएका हुन् । त्यहाँ उनले नेपाल–चीन बिजनेस समिटको कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।
प्रधानमन्त्री दाहाल शनिबार हाङ्जाओमा आयोजित १९औँ एसियन गेम्सको उद्घाटन समारोहमा सहभागी भएका थिए ।
हाङ्जाओमा प्रधानमन्त्री दाहालले शनिबार चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच वान टु वान र प्रतिनिधि मण्डलसँग सामूहिकरुपमा समेत गरी एक घण्टा लामो कुराकानी भएको थियो ।
वार्तामा दुबै नेताबीच यस क्षेत्रको क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमत हुँदै एक अर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने सहमति भएको छ ।
भेटका क्रममा राष्ट्रपति सीले नेपालको आर्थिक, सामाजिक विकासमा खुल्ला दिलले सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रपति सीले शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा नेपाल र चीनले आपसी सम्मान, समर्थन र समान अस्तित्वका साथ ठूलो र सानो देशको कुनै भेदभावविना समान सहअस्तित्वका साथ अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सम्वन्ध थप उचाइमा पुग्ने बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै अहिलेको परिस्थितिमा सीले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्वपूर्ण रहेको बताएका थिए ।
उनले नेपालले एक चीन नीतिप्रतिको प्रतिवद्धता व्यवहारबाटै पुष्टि गरेको बताउँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अंगीकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने धारणा राखेका परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको वेल्ट एण्ड रोड अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकेको स्मरण गरेका थिए ।
प्रधानमन्त्री दाहालले भोली बेइजिङमा प्रधानमन्त्री चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । यसपछि प्रधानमन्त्री प्रचण्डले चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन् ।
सो क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनेछन् ।
प्रधानमन्त्री दाहालले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने छन् ।
यसैगरी उनले चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नेछन् । सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरूको सहभागिता रहने छ। सो अवसरमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नाका साथै लगानी प्रवर्द्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिने छ।
प्रधानमन्त्री दाहाल नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन् । तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल असोज १३ गते स्वदेश फर्किने छन् ।