काठमाडौं । नेपाल शिक्षक महासंघले अन्य प्रकृतिका शिक्षकहरुलाई धोका दिएपछि शिक्षकहरु आन्दोलित भएका छन् । धोकापछि राहत शिक्षकहरुले आन्दोलनलाई जारी राखेका छन् ।
सरकार र शिक्षक महासंघबीच स्थायीबाहेकलाई धोका दिँदै हिजो ६ बुँदे सहमति भएपछि स्थायी प्रकृतिका शिक्षकहरू काठबाडौंबाट फर्किए पनि राहत, अनुदान, अस्थायी र करारमा आबद्ध रहेका (सम्पूर्ण अस्थायी किसिमका) शिक्षकहरुले आन्दोलनलाई जारी राखेका हुन् ।
उनीहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरिरहेका छन् । उनीहरुले हिजो भएको सहमति खारेज हुनुपर्ने, शिक्षा मन्त्रीले राजीनामा दिनुपर्नेलगायतका नाराबाजी गरिरहेका छन् ।
शिक्षकहरुको प्रदर्शनका कारण बानेश्वर माइतीघर सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
विद्यालय शिक्षा विधेयकको विरोधमा तीन दिनसम्म चलेको आन्दोलनपछि सरकारले शिक्षक महासंघले उठाएका माग पूरा गरे पनि राहत शिक्षकले भने त्यसलाई धोका भएको भनेका छन् ।
देशभरका सामुदायिक विद्यालयमा करिब ४६ हजार राहत शिक्षक रहेका छन् ।