काठमाडौँ । काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन परेका छन् । गत भदौ पहिलो साता कामपाले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार चार सय आवेदन परेका कामपा प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिए ।
उनका अनुसार कामपाले आर्थिक वर्ष २०८०-८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो । सोही अनुसार महानगरले आवेदन माग गरेको हो । उनका अनुसार केन्द्रमा एक महिनाको अवधिमा चार सय आवेदन परेका छन् । कामपाका ३२ वटै वडामा आवेदन आएको जानकारी प्राप्त भएको उनले बताए ।
कामपाले श्रम बैंक सञ्चालनका लागि कार्यविधि तयार गर्ने काम गरिरहेको जनाउँदै संकलन भएका आवेदनबाट प्राथमिकिकरण र वर्गीकरणको काम भइरहेको प्रमुख राईले जानकारी दिए ।
कार्यक्रमको मुख्य उद्देश्य सहज रुपमा श्रमिक उपलब्ध गराई सीप क्षमता भएका श्रमिकलाई काममा लगाई उचित पारिश्रमिकको व्यवस्था गर्नु रहेको प्रमुख राईले बताए । उनका अनुसार चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्ने छ ।
राईका अनुसार आवेदन फाराममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । फाराम आफू बसेको वडामा अथवा कामपाको रोजगार सेवा केन्द्रमा बुझाउन पर्ने उनले बताए।
उनका अनुसार यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने व्यवस्था रहेको छ ।