काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार चीन पुगेका छन् । प्रधानमन्त्री दाहाल अमेरिका भ्रमण सकेर हङकङ हुँदै आजै बिहान चीनको हाङ्जाओ पुगेका हुन ।
हाङ्जाओ विमानस्थलमा प्रधानमन्त्री दाहाललाई चिनियाँ उपप्रधानमन्त्री हि ली फाङले स्वागत गरेका छन् । फाङ अर्थतन्त्र र वित्त हेर्ने उपप्रधानमन्त्री हुन् ।
प्रधानमन्त्री दाहालले आजै चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । हाङझावमा हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक हुनुअघि प्रधानमन्त्री दाहालले राष्ट्रपति चिनफिङसँग भेटवार्ता गर्ने बताइएको छ ।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरी प्रधानमन्त्री दाहाल शुक्रबार न्युयोर्कबाट चीन गएका हुन ।
आइतबार चीनको राजधानी बेइजिङ जाने प्रधानमन्त्री दाहालले सोमबार चिनियाँ प्रधानमन्त्री लि छियाङ्सँग भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रीकल्चरल साइन्सको अवलोकन पनि गर्ने छन् ।
बेइजिङबाट छेन्तु हुदै प्रधानमन्त्री दाहाल आगामी शनिबार स्वदेश फर्कने कार्यतालिका रहेको छ ।