काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले शिक्षक आन्दोलनमा पार्टीको नैतिक समर्थन जनाएका छन् । उनले शिक्षकका माग सम्बोधन गरेर विद्यालय फर्काउन सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
प्रमुख सचेतक गिरीले शुक्रबार विज्ञप्ति जारी गर्दै देशभरीबाट दुःख कष्ट सहेर काठमाडौंमा सडक आन्दोलन गरिरहेका शिक्षकका माग सरकारले बेवास्ता गरेको आरोप लगाउँदै तत्काल वार्ताबाट समाधान गरी शिक्षकलाई विद्यालयमा फर्काउन आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ– “सम्बन्धित सबै पक्षसँग परामर्श गरी शिक्षा विधेयक आउनु पर्थ्यो तर त्यसो भएन । जसका कारण देशैभरीबाट हजारौं गुरुहरु अनेक दुखकष्ट सहेर काठमाडौं आई सडक आन्दोलन गरिरहनु भएको छ । जसका कारण लाखौँ विद्यार्थीहरुको पठन पाठन प्रभावित भएको छ । तसर्थ शिक्षकहरुको न्यायोचित मागहरु यथाशिघ्र पूरा गरी खुसी मनका साथ विद्यालय शिक्षकहरु कार्यस्थलमा फर्कने वातावरण बनाउन सरकारसँग माग गर्दछु ।”
तीनदिनदेखि हजारौं शिक्षकहरु काठमाडौंका सडकमा धर्ना दिँदै प्रदर्शन गरिरहँदा सरकारले सार्थक पहल नगरेको आरोप गिरीको आरोप छ ।
यसअघि नेकपा एमालेका काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेलले आन्दोलनमा उत्रिएका शिक्षकका जायज मागमा पार्टीको समर्थन रहेको भन्दै शिक्षकमाथि कुनै कारबाही वा प्रतिशोध नलिन काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।
काठमाडौं जिल्ला कमिटीको तर्फबाट इन्चार्ज पोखरेलले वक्तव्य जारी गर्दै गठबन्धन सरकारले शिक्षकको स्वाभिमान र अधिकारलाई कुण्ठित हुने गरी विद्यालय शिक्षा विधेयक ल्याएको आरोप समेत लगाएका छन् ।
काठमाडौं महानगरपालिकाका मेयरले आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने भन्दै नगर प्रहरीमार्फत हाजिरीमा रातो लगाएपछि एमाले काठमाडौं शिक्षकको पक्षमा उभिएको हो ।
सरकारले शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै लाखौँ शिक्षकहरू ३ दिनदेखि सडक आन्दोलनमा छन् । सबै विद्यालयहरू बन्द छन् ।
पोखरेलले विज्ञप्तिमा भनेका छन्– “शिक्षकलाई सडकमा ल्याउने यो सरकारको असफलता हो । उनीहरूका जायज माग पुरा गर्न सार्थक वार्ताको माग् गर्दछु । म शिक्षक लगायत सबै पेशाकर्मी जायज माग पुरा गर्न सरकार समक्ष पुनः अपिल गर्दछु ।”
पोखरेलले विद्यार्थीको पढाई र उनीहरूको शैक्षिक भविष्यप्रति जिम्मेवार बन्न शिक्षकहरूलाई समेत आग्रह गरेका छन् ।