काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवम् कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।
उनले अहिलेको कमजोर अर्थतन्त्रले धान्न नसक्ने र संविधानले शिक्षाका सम्बन्धमा गरेको व्यवस्था प्रतिकूल हुने विषयहरूबाहेक जुनसुकै कुरामा छलफल गर्न सरकार तयार रहेको बताए ।
बिहीबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शिक्षकहरूको आन्दोलन र विद्यालय शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकका विषयमा जानकारी गराउँदै रक्षामन्त्रीसमेत रहेका कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षकहरूसँग संवाद सुरू भइसकेको र जायज मागहरू सरकारले पूरा गर्ने बताए ।
उनले भने, ‘शिक्षा क्षेत्रलाई, शिक्षकहरूको पेसागत अवस्थालाई सुधार र व्यवस्थित गर्ने कुरामा सरकारले खुला छलफल गरौँ भनेको छ । ऐनमा, नियमावलीमा, कार्यविधिमा कसरी व्यवस्था गरेर समस्याहरूलाई समाधान गर्न सकिन्छ ? त्यसबारे छलफल गर्न सरकार तयार छ ।’
उनले विधेयकका व्यवस्थाहरूमा सहमति जुटाउन विधेयकको मस्यौदा तयार गर्नेक्रममै पटक–पटक छलफल भएको बताए ।
त्यसक्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले महासंघका प्रतिनिधिहरूसँग विगतमा गरेका संवादका आधारमा भएका सहमतिहरूलाई समेटेर नै सरकारले विधेयकको मस्यौदा तयार गरेको दाबी गरे ।




















