काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरूलाई आग्रह गरेको छ ।
नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो ।
विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
महानगरपालिकाले शिक्षा विभागलाई विद्यालय बन्द भएका खण्डमा आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन पनि दिएको छ । आन्दोलन गर्न पाउनु शिक्षकहरूको अधिकारको कुरा भए पनि आन्दोलनका नाममा विद्यालय नै बन्द गर्नु नहुने प्रवक्ता मानन्धरले बताए ।
यसअघि पनि काठमाडौँ महानगरपालिकाले शिक्षक कर्मचारीहरूलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो । विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने चेतावनी यसअघि पनि दिइएको थियो ।





















