काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर कार्यशैली सच्याउन आग्रह गरेका छन् । हिजो आफ्नो समूहको वैठक गरेरका कोइरालाले आज सभापति देउवालाई भेटेर शैलीलाई सुधार गर्न आग्रह गरेका हुन् ।
उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारसहित सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका कोइरालाले कोशी प्रदेश, सरकारको प्रभावकारिता, सभापतिका निर्णय प्रक्रिया, संसदीय समितिको सभापति चयन, भ्रातृ संस्थाका पदाधिकारी तथा सदस्य चयनमा मनोमानी भएको आरोप लगाएका छन् ।
विशेष गरेर कोइरालाले प्रदेशका सरकार बनाउँदा छलफल नभएको, केन्द्रीय समितिमा एकलौटी तरिकाले मनोनित गरिएको जस्ता कुरामा असन्तुष्टि जनाएका छन् । कोइरालाले देउवासँग भएको आधा घण्टा लामो भेटवार्ताका क्रममा पार्टीको आन्तरिक संरचनादेखि देशको आर्थिक र कूटनीतिक अवस्था पनि ध्वस्त हुने बाटोमा पुगेको कुरा राखेका थिए ।
देश र पार्टी कमजोर हुँदा पनि नेतृत्व गम्भीर नभएको भन्दै वताउँदै कोइरालाले आजदेखि नै कोर्स करेक्सन गर्न देउवालाई चेतावनी दिएको सहभागि नेताहरुले जानकारी दिएका छन् ।
प्रतिउत्तरमा सभापति देउवाले सबैलाई मिलाएर जाने भन्दै दिएको जवाफ परम्परागत भएको संस्थापनइतरका नेताले बताएका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ४ असोजमा सुरु हुँदैछ । उक्त बैठअघि शेखर–गगन पक्षको मंगलबार बसेको बैठकले पार्टीमा देउवा पक्षले एकलौटी गरेको र गत साउनमा बसेको केन्द्रीय समितिले तय गरेको कार्यसूची प्रभावित हुने आशंका गरेका थिए ।
भेटमा अब पनि एकलौटी चल्ने भए नयाँ ढंगले आफू अगाडि बढ्ने शेखरले चेतावनी दिएका थिए ।
प्रचण्ड नेतृत्वको सरकार र कोशी सरकारको विषयमा पनि ध्यानाकर्षण गराएका कोइराला पछिल्लो समय प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने बताउँदै आइरहेका छन् । कोइरालाले पार्टीबाट पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गएका मन्त्रीहरुबारे देउवाले कहिले छलफल र समीक्षा नगरेकोमा पनि आपत्ति जनाए ।



















