काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनमा कठिनाई भएका विषय संशोधन गर्न सकिने बताएका छन् ।
मंगलबार दिउँसो संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित ‘सुवास र संविधान’विषयमा प्रवचन कार्यक्रममा ओलीले देशप्रति राजनीतिक दल जिम्मेवार बनेर अगाडि बढ्नुपर्ने धारणा राखे ।
उनले केहि न केहि त्रुटी र कमजोरी हरेक संविधानमा हुने गरेकाले सच्याउन सकिने बताए । पूर्वप्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनक्रममा देखा परेका नमिल्दा र व्यवहारमा त्रुटी देखिएका विषय संशोधन गर्नुपर्ने धारणा राखे।
ओलीले संविधान जारी नगर्न संविधान सभाका अध्यक्ष नेम्वाङलाई दबाब आएको स्मरण गर्दै उनले दबाबकै बीच संविधान ल्याइएको बताए। उनले जीवन बलिदान र कठिनाई बाट अहिलेको संविधान निर्माण भएको र उपलब्धि गुम्न दिन नहुने बताए।
ओलीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यमा देशलाई पुर्याउन एमाले प्रतिबद्ध रहेको बताए। उनले देशको भूमी, राष्ट्रियता, देशको सार्वभौम सत्ता, राष्ट्रिय हित र स्वाभिमान रक्षा गर्न र सुशासन ल्याउन एमाले प्रतिबद्ध रहेको दोहोर्याए।
ओलीले भने, ‘देशमा राष्ट्रिय एकता खलबलिन हामी दिन सक्दैनौं । अरुको स्वार्थमा लागेर हाम्रो देशमा हिंसा भड्काउने प्रयास जुनसुकै रंग र भेषमा भए पनि एमाले र जनतालाई स्वीकार्य छैन । यस्ता चिज रोक्न एमाले लागिपर्छ।’