काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेको छ ।
मंगलबार शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा पुरस्कार पाउने व्यक्तिहरूको नाम सार्वजनिक गरेको हो। स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वाोत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनाले ‘ग’श्रेणीको पदक पाएका हुन्।
दिवसका अवसरमा पहिलोपटक नेपाल प्रविधि विद्याभूषण र समाज कल्याण शिक्षा पुरस्कार थप गरिएको छ । सबै गरी एक सय ७७ पुरस्कृत भएका हुन्।
गत जेठ ९ गतेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो । ‘समावेशी र सीपमूलक शिक्षा ‘ स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ ।