काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकारात्मक परिणाम निकाल्नका निम्ति युवाको उत्साह र सहभागिताको आवश्यकता रहेको बताएका छन् ।
शनिबार नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन–२०८० लाई सम्बोधन गर्दै उनले युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको बताएका हुन्।
उनले वर्तमान सरकारले सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण प्रयास अगाडि बढाएको उल्लेख गरे। विदेशमा रहेका लाखौं युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रक्रिया पनि सुरू भएको उनले बताए ।

सात दशक लामो सङ्घर्षपछि संविधानसभाबाट जारी भएको संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई नागरिकको मौलिक हकको रूपमा ग्यारेन्टी गरेको उनको दाबी छ । उनले सम्मेलनले निकालेका जायज र सकारात्मक निष्कर्षलाई सरकारका तर्फबाट कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।




















