काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।
समितिको शुक्रबारको बैठकले शर्माको सुनुवाइ गर्ने निर्णय गरेपछि उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
न्यायपरिषद्ले विनोद शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशका रूपमा नियुक्तिका लागि प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्लाई दोस्रो पटक लेखिपठाएको थियो । शर्माको नाम सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिए ।
अनुमोदन भएसँगै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने बताएका छन् ।
शुक्रबार सिंहदरवारमा बसेको संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो भावी योजना प्रस्तुत गर्ने क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रस्तावित न्यायाधीश शर्माले न्यायमा ढिलासुस्ती र खर्चिलोपन हुन नदिनका लागि आफूले सक्दो पहल गर्ने बताए ।




















