काठमाडौं । संविधानसभा अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
नेम्वाङको हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो ।
नेम्वाङको अन्तिम बिदाइको लागि पशुपति आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे लगायत राजनीतिक दलका नेताहरू, सुरक्षा अधिकारी, उच्च अधिकारी लगायत सर्वसाधारण समेत पुगेका छन् । पशुपति आर्यघाट क्षेत्र खचाखच भएको छ ।
उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा तथा एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर सम्मानसहित अन्तिम बिदाई गरेका छन् ।
दाहसंस्कार गर्नुअघि उनलाई सैनिक तथा प्रहरीको टुकडीले राजकीय सम्मान दिइएको थियो । नेम्वाङको अन्तिम संस्कारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रीहरू, एमाले अध्यक्ष केपी ओली, दलका शिर्ष नेता तथा कार्यकर्ता, आफन्त र शुभेच्छुकको बाक्लो उपस्थिति छ ।
नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो । उनको सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिइएको छ ।



















