काठमाडौं । भ्रष्टाचारका काण्डको पूर्ण छानबिन गर्नुपर्ने लगायतका माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले उपत्यका केन्द्रीत विरोध प्रदर्शन गरेको छ ।
भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्ण छानबिन गर्न दबाबका साथै गौवंश हत्या रोक्नुपर्ने भन्दै राप्रपाले काठमाडौंको भृकुटिमण्डपबाट शान्तिबाटीकासम्म विरोध र्यालीसहित प्रदर्शन गरेको हो ।
उनीहरूले गौहत्या बन्द गर, हिन्दुराष्ट्र कायम गर, गणतन्त्र खारेज, विदेशी दलाल होसियारलगातका नारा लगाएका थिए । हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि दबाब दिन पनि विरोध प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।
विरोध प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन,बरिष्ठ नेता डा. प्रकाश चन्द्र लोहनीलगायतका शीर्ष नेताहरू पनि सहभागी भएका थिए ।




















