
काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
मंगलबार च्यासलमा बसेको सचिवालयको आकस्मिक बैठकले पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको हो । बैठकले असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गर्ने र नेम्वाङको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने पनि निर्णय गरेको छ । सचिवालयको आकस्मिक बैठकले विशेष शोक प्रस्ताव पारित गरेको छ । बैठकका क्रममा एमालेले नेम्वाङको कुर्सीमा फूल राखेको थियो ।
संविधानसभा अध्यक्ष नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ भने उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।
आज बिहान प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिरिषदको आकस्मिक बैठकले नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छिन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेकी प्रवक्ता शर्माका अनुसार अन्त्येष्टि हुने दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ ।
उनका दुवै छोरा अस्ट्रेलिया र बेलायतबाट आएपछि मुन्धुमी विधिअनुसार अन्तिम संस्कार गरिने बताइएको छ।
नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट एमाले पार्टी कार्यालय च्यासल लगिएको छ ।
नेम्वाङको शव नेपाली सेनाको गाडीमा हालेर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले केन्द्रीय कार्याल च्यासलमा लगिएको हो । उनको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि राखिने छ । नेम्वाङको शवमा अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धासुमन व्यक्त गरेका छन् । नेम्वाङलाई श्रद्धाञ्जली दिन नेताहरूको बाक्लो उपस्थिति छ ।




















