विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले लाखौं जनता सडकमा उतार्ने उद्घोष गरेका छन् । समाजवादी मोर्चाको विराटनगरमा आयोजित कार्यक्रममा उनले हिंसारहित युद्धको लागि लाखौं जनता सडकमा उतार्ने बताए ।
‘भोलि सुदूरपश्चिममा सभा गरेपछि मोर्चाको सातवटै प्रदेशमा कार्यक्रम सकिन्छ। त्यसपछि कार्यक्रम बनाएर लाखौं जनता सडकमा उतार्ने हो। दलालहरूलाई हामी जिउँदै छौं भनेर देखाउनलाई,’ उनले भने ।
उनले समाजवादी मोर्चाले हिंसारहित लडाइँ सुरू गरेको बताए । उनले वर्षौं जेलनेल भोगेर पार्टी खोलेका नेताहरू अहिले रक्षात्मक हुने अवस्था आएको बताए।
उनले हावाहुरीमा आएकाजस्ता पार्टीहरूका कारण पुराना पार्टीहरू रक्षात्मक हुने अवस्था आएको बताए । नेताहरूको एकअर्कालाई होच्याउने बानी बिग्रेकाले त्यस्तो बानी सुधार्नुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्री दाहालले धरानमा साम्प्रदायिक मुठभेड निम्तिन नदिन आफूले धेरै मेहनत गरेको बताए । धर्म निरपेक्षको लागि लडेको पूर्वी क्षेत्रमा जातीय तथा धार्मिक द्वन्द्व फैलाउन खोजिएको उनको आरोप छ।




















