काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको पहिलो शर्त सुशासन भएको बताएका छन् । ज्यापू समाज यलको ३० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारलाई प्रभावकारी ढंगबाट अन्त्य नगरी सुशासन सम्भव नभएको बताएका छन् ।
सुशासनको अभियान अगाडि नबढोस्, भ्रष्टाचार विरोधी अभियान रोकियोस भनेर नयाँ प्रकारका षड्यन्त्र र तिकडमहरू भइरहेको वताउँदै मन्त्री श्रेष्ठले आफूहरु विश्राम लिने पक्षमा नरहेको र सुशासनको अभियानलाई जारी राख्ने बताएका छन् ।
भ्रष्टाचार, तस्करी, कमिसनखोर, कानूनको उल्लंघन गर्नेहरूलाई दण्डित गरेर नेपालमा शान्ति सुरक्षाको व्यवस्था नगरेसम्म विकास र समृद्धिले फड्को मार्ने सम्भावना नभएको बताउँदै उनले सरकारले समृद्धिको अभियानको लागि भ्रष्टाचारविरोधी अभियान अगाडि बढाएको दावी गरेका छन् ।
सुशासन विरोधी अभियानलाई जनताका समर्थन रहेकाले आफूहरुले सफलता प्राप्त गर्ने उनले बताएका छन् ।



















