काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्तरी छिमेकी चीनले जारी गरेको नयाँ नक्सालाई लिएर आफू गम्भीर रहेको बताउँदै आफ्नो चीन भ्रमणमा सो बारे प्रष्टसँग कुरा राख्ने बताएका छन् ।
असोज पहिलो साता हुन लागेको चीन भ्रमणलाई लिएर संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग आइतबार सिंहदरबारमा आयोजित बैठकमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन ।
नेपालले २०७५ वैशाखमा जारी गरेको चुच्चे नक्साको भूभाग भारततिर देखिने गरी चीनले आफ्नो राजनीतिक नक्सा गत २१ अगस्टमा जारी गरेपछि नेपालमा यसको विरोध भइरहेको छ ।
बैठकमा दलका नेताहरुले भ्रमणमा जाँदा चीनद्वारा भर्खरै जारी भएको नक्सामा ध्यान दिनुपर्ने कुरा उठाएका थिए । उनीहरुले यसबारेमा चीनसँग कुरा गर्न भनेपछि प्रधानमन्त्रीले आफू गम्भीर रहेको बताएका हुन ।
सर्वदलीय वैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा कटिबद्ध रहेको विश्वास चीनलाई दिलाउँदै यसअघिको सहमति कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिएका छन् ।
नेपालले चीनसँगको सम्बन्ध कम प्राथमिकतामा राखेको हो कि भन्ने भ्रम चीनलाई रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको भ्रमणले त्यो तोड्नुपर्ने बताएका छन् ।
उनले भने– “नेपाल सदैव सन्तुलित असंलग्न परराष्ट्र नीतिमा छ । चीन असल छिमेकी हो । चीनसँगको सम्बन्धलाई हामीले उच्च महत्त्व दिन्छौं भन्ने कुरामा फोकस गर्नका लागि आग्रह गरेको छु । नयाँ नयाँ योजनाहरूका लिस्ट प्रस्तुत गर्नुभन्दा पनि २०१६ देखि २०१९ सम्म उच्च स्तरीय भ्रमणमा भएका समझदारीको कार्यान्वयनका लागि विश्वास जगाउन आग्रह गरेको छु ।”



















