काठमाडौं । चार दलीय समाजवादी मोर्चा नेपालले बागमती प्रदेशस्तरीय सन्देश सभा आज मकवानपुरको हेटौंडामा गर्दैछ ।
सन्देश सभालाई मोर्चामा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने बताइएको छ ।
समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा पनि आजै गरिने बताइएको छ ।
भदौ ४ गते बसेको बैठकले मोर्चा गठनको उद्देश्य र लक्ष्यबारे जानकारी दिन सात वटै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार मोर्चाले यसअघि मधेश प्रदेशको वीरगञ्ज, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र गण्डकी प्रदेशको पोखरामा सन्देश सभा आयोजना गरेको थियो ।
पूर्वघोषणा अनुसार भदौ १३ गते सुदूरपश्चिमको धनगढीमा आयोजना गर्ने भनिएको सभा स्थगित गरिएको थियो भने कोशी प्रदेशको विराटनगरमा यही भदौ २५ गते सभा गर्ने कार्यक्रम रहेको बताइएको छ ।



















