विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण लिएका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
सर्वोच्च अदालतका न्यायधीशहरु सपना प्रधान मल्ल, डा कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले बुधबार उद्धव थापालाई मुख्यमन्त्रीबाट पदमुक्त गर्दै कार्कीलाई ४८ घण्टाभित्रै मुख्यमन्त्री बनाउन बिहीबार परमादेश दिएको थियो ।
सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री बन्नुभएको कार्कीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
शपथग्रहण पश्चात मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गरेका छन् । जस अनुसार उनले एमालेबाट तिलकुमार मेन्याङ्वो उर्जा, पाँचकर्ण राई वन र एकराज कार्कीलाई भौतिक पूर्वाधार मन्त्रीको शपथ गराएका छन् ।
साथै मुख्यमन्त्री कार्कीले सृजना राईलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गरेका छन् ।
यसअघि विश्वासको मत लिन नसकेर पदमुक्त भएका कार्की अदालतको परमादेशबाट पुन: मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् ।




















