काठमाडौ । निजामती कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामति ऐन कर्मचारीमैत्री नआए सिंहदरबारभित्रै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शुक्रवार सिंहदरबारमा २० औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
ऐनमा ट्रेड युनियन अधिकारलाई खुम्च्याउने प्रयास भएको कुरा सुनिएको भन्दै आफूहरुको अधिकार छाँटकाँट गर्ने कुरा किमार्थ स्वीकार्य नहुने बताए । उनले संघ, प्रदेश, स्थानीय तीन तहमै फराकिलो वृद्धि विकास सहितको कर्मचारीमैत्री संघीय निजामति ऐन ल्याउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
उनले २०७५ सालमा समायोजन कर्मचारीको पक्षमा नभएको भन्दै एक पटकलाई संघ, प्रदेश, स्थानीय तीन तहमै समायोजन रोज्न सबै कर्मचारीलाई दिनुपर्ने माग गरे । उनले बन्द हड्ताल सहितको ट्रेड युनियन अधिकार हामीले प्राप्त गरेको भन्दै आफूहरुको अधिकार जस्ताको त्यस्तै आउनुपर्ने बताए । उनले अहिले संघ, प्रदेश, स्थानीय तीन तहकै श्रेणिबिहीन कर्मचारीको व्यवस्था र खरिदारबाट हुने व्यवस्थालाई यथावत राखि नासुबाट अधिकृत हुने व्यवस्थालाई ५० प्रतिशत राख्नुपर्ने बताए ।
कार्यवाहक अध्यक्षसमेत रहेका कटुवालले ट्रेड युनियन अधिकार खुम्च्याउने गरी नल्याउन आग्रह गरे ।




















